एजेन्सी –इरान र इजरायलले एक अर्काबिच भिषण आक्रमण जारी राखेका छन् । शुक्रबारदेखि सुरु भएको यो द्वन्द्वमा दुवै देशले एकअर्कामाथि मिसाइल र हवाई आक्रमण गरिरहेका छन् । द्वन्द्वले सैन्य र गैरसैन्य क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देखि हालसम्म कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार दुई सय ७७ जना घाइते भएका छन् । मृतक र घाइतेमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण भएको दाबी गरिएको छ । मानवअधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले भने यो संख्या अझ बढी रहेको बताएको छ ।
मृतकमा इरानका उच्च सैन्य अधिकारीहरू, जस्तै मोहम्मद होस्सैन बाघेरी (इरानी सेनाका चिफ अफ स्टाफ), होस्सैन सलामी (रिभोलुसनरी गार्ड कोर्प्सका कमान्डर), मोहम्मद काजेमी (आईआरजीसी खुफिया प्रमुख), र घोलमाली रशिद (उपकमाण्डर) का साथै परमाणु वैज्ञानिकहरू फेरेदुन अब्बासी र मोहम्मद तेह्रान्चीलगायत रहेका छन् ।
इजरायली अधिकारीहरूका अनुसार इरानको जवाफी कारबाहीमा शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको छ भने तीन सय ९० जना घाइते भएका छन् । मृतकमा मध्य इजरायलमा चार जना, बट याममा मिसाइल आक्रमणमा ६ जना, र उत्तरी इजरायलको ताम्रामा चार महिलाको मृत्यु भएको छ । घाइतेमध्य केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । चौथो दिनमा पनि आक्रमण जारी रहेका कारण मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । दुई देश बिचको तनावलाई लिएर पछिल्लो समय विश्वभरका देशहरुले सहमतिमा आउन दुई देशलाई आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।