काठमाडौं– नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन्।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ।
‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो र आफ्नै निवास फर्कनुभएको थियो,’ उनी निकट स्रोत भन्छ, ‘बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी छ।’
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ। रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन्।
त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ। भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ।
पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ। त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ।
‘अहिले सरकारले उहाँलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ। गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको छ’, उनी निकट स्रोत भन्छ।
भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।