काठमाडौं– सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई करिब ११ वर्ष कैद सजाय भएको छ । यस्तै ३१ करोड १८ लाख ६२ हजार १ सय ७८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र अर्का न्यायाधीश रामबहादुर थापाको इजालासले गत असार ६ मा बस्नेतलाई दोषी ठहर गरेकामा सोमबार सजाय निर्धारण गरेको हो । दोषी ठहर बस्नेत २०७४ र २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट मेयर निर्वाचित भएका थिए ।
सजाय निर्धारण गर्दै विशेषले व्यापारीबाट घुस लिएको कसुरमा उनलाई २ करोड ३० लाख ६१ हजार ५ सय ८ रुपैयाँ जरिवाना र ८ वर्ष कैद सजाय सुनाएको हो । मेयरको पद दुरुपयोग गरेकामा थप ३ महिना कैद सजाय गरिएको छ । यस्तै सम्पत्ति शुद्धीकरणतर्फ उनलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम भएकामा बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवाना सुनाइएको हो ।
सम्पत्ति शुद्धीकरणतर्फ अदालतले थप ३ वर्ष कैद सजाय तोकेको हो । यस्तै अदालतले २ करोड ६२ लाख ५४ हजार ६सय ६ रुपैयाँ ४६ पैसा पनि थप जरिवानाबापत सजाय निर्धारण गरेको हो ।
यस्तै बस्नेतबाट अपराधपीडित राहत कोषमा १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ जम्मा गर्न पनि अदालतले आदेश दिएको छ । बस्तेलाई घुस दिएको कसुरमा पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्टका अध्यक्ष राजुप्रसाद कँडेल तथा उनको संस्थाबाट जनही ९ लाख २२ हजार ४ सय ६० रुपैयाँ अपराधपीडित राहत कोषमा जम्मा गर्न आदेश गरिएको छ ।
पद्मा कोलोनीका सञ्चालक कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३३ रुपैयाँ घुस लिएको र उक्त घुस प्रतिवादी बस्नेतले शुद्धीकरण गरेको भन्दै विशेषले गत असार ६ मा दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । सोही मुद्दाको किनारा लगाउँदै विशेषले दुबैजनालाई दोषी ठहर गरेको हो । विशेषले सजाय निर्धारणका लागि भने असार १६ गतेलाई पेसी तोकेको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेत, पत्नी उर्मिलासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । विशेषले उर्मिला बस्नेतलाई भने सफाई दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।