जुम्ला – खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् । जुम्ला जिल्ला स्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधिन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण पश्चात उनले यस्तो बताएका हुन् ।
उनले भने, “आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ ।”
मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्ला सहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याहरुको आफुले समाधान गरेर छोड्ने प्रतिवद्धता व्यक्त गरे ।
“यहाँका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानी लगायतका विविध समस्याबारे प्रत्यक्ष जानकारी लिने मौका पाए । यहाँको खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरेरै छोड्छौँ, उनले भने ।
जुम्लाको कठोर भौगोलिक बनोटकाबीच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको समेत मन्त्री यादवले बताए ।
उनले भने, “तपाईहरुको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको छ । कर्णालीवासीको उज्यालो भविष्यका लागि सँगै सहकार्य गरौँ ।”
जुम्ला स्थित हिमा गाउँपालिका–१ देवारगाउँमा आइतबार (आज) आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्नका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ लगायतको टोली आज जुम्ला पुगेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।