काठमाडौँ – भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । जसमा एक जना नेपाली रहेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका नागरिक पनि रहेका छन् ।
बन्दुकधारीले पर्यटकमाथि धर्म सोध् गोली चलाएका थिए जसमा नेपाली सुनदीप न्यौपानेको मृत्यु भएको छ । आतंककारीहरुको आक्रमणबाट दर्जनौँ घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । आक्रमणको जिम्मा लस्कर–ए–तोएबाले लिएको छ । आक्रमणको जिम्मा लिएको लस्कर–ए–तोएबा कस्मिर क्षेत्रमा सन् १९८९ देखि भारतबाट अलग हुने वा पाकिस्तानसँग मिल्न पाउनुपर्ने माग राखेर सशस्त्र विद्रोह चलाइरहेका संगठनमध्ये एक हो ।
घटना भएको पहलगामको बैसरन उपत्यका लेकमा अवस्थित घाँसेमैदान हो । घाइतेहरुका अनुसार आक्रमणकारीले जंगलबाट बाहिर निस्केर अन्धाधुन्ध गोली चलाएका थिए । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकमाझ लोकप्रिय गन्तव्यस्थल हो ।
आक्रमणस्थल पैदल वा घोडामा मात्र पुग्न सकिने भएकाले आक्रमणपछि घाइतेको उद्धारका लागि सैन्य हेलिकोप्टर परिचालन गरिएको थियो । भारतका केन्द्रीय मन्त्री अमित साह आक्रमणलगत्तै जम्मु–कस्मिरको राजधानी श्रीनगर पुगेका छन् । त्यहाँ साहले सबै एजेन्सीहरू सम्मिलित सुरक्षा समीक्षा बैठक बसाए ।
जम्मु–कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगतको भन्दा निकै ठुलो भएको बताए । भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कस्मिरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा रहेका बेला यो आक्रमण भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी आक्रमणलाई ‘क्रूर घटना’ भन्दै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । विपक्षी नेता राहुल गान्धीले आक्रमणलाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।