काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारी विधेयक छलफलका क्रममा आफूलाई तानातान गर्दा लोगो नै हराएको बताएका छन्।
बुधबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
‘यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो। सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु,’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरी खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु।’
साथै, उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको बताए।
‘कुनैपनि इस्यूमा समितिको कार्यभन्दा बाहेक मैले थपेको भनेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ भन्दा बाहेक केही थिएन,’ उनले भने।
उनले आफ्नो राजनीतिलाई नै सक्नेगरी समितिका काममाथि प्रश्न उठाउने काम भएको बताए।
‘राजनीतिमा कसैको निगाहबाट आएको होइन। मेरो बाउ शहिद भएर पनि आएको होइन चन्दा दिएर पनि आएको होइन,’ खतिवडाले भने, ‘राजनीतिमा दु:ख गरेर आएको हुँ। निष्ठा र प्रतिष्ठसँग म आज पनि दृढ छु। ममाथि आक्रमण प्रहार भएको छ।’
उनले आफूमात्रै नभइ संसद्माथिकै प्रहार भएको पनि बताए।
आफ्नो समितिले विभिन्न ठूला उपलब्धि गरेको भए पनि यसपटकको यो विषयलाई लिएर खुइल्याउने काम हुन थालेको पनि बताए।
‘कतिपय निजामती कर्मचारीको काम र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ। कतिपय कर्मचारी आफूमात्रै खाऔं भन्ने खालको पनि हुनुहन्छ। त्यसलाई कन्ट्रोल गर्नका लागि पनि हामीले कुलिङ पिरियड ल्यायौं,’ खतिवडाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।