काठमाडौं– लगातार तेस्रो कारोबारका दिन मंगलबार पनि सेयर बजार बढेको छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४४ अंकले बढेर २६६२.९२ बिन्दुमा पुगेको हो।
यसअघिका पहिलो र दोस्रो कारोबारका दिन पनि नेप्से लगातार बढेको थियो। आइतबार नेप्से २६ अंकले बढेर २६२२ बिन्दु र सोमबार ९ अंकले वृद्धि हुँदै २६३१ बिन्दुमा बन्द भएको थियो।
आज बजारमा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज कुल १ करोड ५७ लाख कित्ता सेयर कारोबार भएको छ। कारोबार बढेपनि यो रकम अघिल्ला दिनको तुलनामा कम हो। आज बजारमा २४८ कम्पनीका ३०९ स्क्रिपको कारोबार भएको छ। जसमध्ये २१७ कम्पनीको मूल्य बढ्दा जम्मा ३१ कम्पनीको मात्र घटेको छ।
कारोबार रकमको आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ४६ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। राधी विद्युत कम्पनी र बुटवल पावर कम्पनी त्यसपछि क्रमशः उच्च कारोबार भएका कम्पनी रहेका छन्।
आज सबैभन्दा धेरै कमाउने सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावरका लगानीकर्ता रहे। यी दुवै कम्पनीको शेयर मूल्यमा ९.८७ प्रतिशत वृद्धि भएको छ। त्यसैगरी वरुण हाइड्रोपावर र राप्ती हाइड्रोपावरका लगानीकर्ताले पनि ८ प्रतिशतभन्दा बढी कमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।