काठमाडौं – नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामति सेवा विधेयकमाथि गरिएको चलखेल गम्भीर अपराध भएको बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा कुलिङ अफ पिरियडमाथि भएको जालसाझीको चर्चा गर्दै उनले यो कमजोरी नभएर अपराध भएको बताएका हुन्।
‘त्रुटि भयो त्रुटि भयो भनेर सभापति (रामहरि खतिवडा) भन्दै हिड्नुभएको छ। तर, यो त्रुटि होइन, अपराध हो। गम्भीर अपराध हो,’ उनले भने, ‘यो अपराधको निष्पक्ष छानबिन गरियोस्, दोषीलाई कारबाही गरियोस्। कुलिङ पिरियड लागू गरियोस्।’
उनले सभापति खतिवडा र सचिव सुरज दुराले तत्काल राजीनामा दिनु पर्ने धारणा राखे। ‘तपाईं (सभापति खतिवडा)ले थाहा पाइनँ भन्न पाउनुहुन्न। सभापतिले नैतिक रूपमा राजीनामा दिनुस्। तपाईंलाई सभापति बनिरहने अधिकार छैन। यस्तै, सचिव सुरज दुराजी तपाईंलाई हामी राज्यव्यवस्थमा सचिवको रूपमा अब हेर्न सक्दैनौं। यो समितिको आगामी बैठकमा तपाईंको उपस्थिति हामीलाई स्वीकार्य हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।