एजेन्सी– विश्वका सांस्कृतिक र प्राकृतिक सम्पदा स्थलहरूमध्ये झन्डै तीन चौथाइ कम वा बढी पानीका कारण खतरामा रहेको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सीले मङ्गलबार बताएको छ।
बढ्दो तापक्रमका कारण आँधीबेहरी, खडेरी, बाढी र तातो लहरलगायत चरम मौसमका घटनाहरू बारम्बार र तीव्र भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
युनेस्को हेरिटेज सूचीमा रहेका सबै एक हजार एक सय ७२ गैर–समुद्री स्थलमध्ये ७३ प्रतिशत कम्तीमा एउटा पानीको तनाव, खडेरी, नदीको बाढी वा तटीय बाढीसहित गम्भीर पानीको जोखिममा रहेको युनेस्कोले बताएको छ।
“विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिका, दक्षिण एसिया र उत्तरी चीन जस्ता क्षेत्रहरूमा पानीको तनाव तीव्र हुने अनुमान गरिएको छ, जसले इकोसिस्टम, सांस्कृतिक सम्पदा र तिनीहरूमाथि निर्भर समुदाय र पर्यटन अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम खडा गरेको छ”, युनेस्कोले भन्यो।
सांस्कृतिक स्थलहरू प्रायः पानीको अभावबाट खतरामा परेका थिए भने आधाभन्दा बढी प्राकृतिक स्थलहरूले नजिकैको नदीबाट बाढीको जोखिमको सामना गर्नुपरेको युनेस्कोको अध्ययनले देखाएको छ।
“उदाहरणका लागि भारतमा आगराको ताजमहल स्मारकले पानीको अभावको सामना गरिरहेको छ जसले प्रदूषण बढाइरहेको छ र भूजल घटाउँदैछ, यी दुवैले समाधिमा क्षति पुर्याइरहेका छन्”, अध्ययनले भन्यो।
युनेस्कोका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा ठूलो बाढीले सबै येलोस्टोन राष्ट्रिय निकुञ्ज बन्द गरिदियो र पुनः खोल्न पूर्वाधार मर्मतका लागि दुई करोड डलरभन्दा बढी खर्च भयो।
प्रतिवेदनले थप चारवटा उदाहरण दिएको छ।
“इराकका दक्षिणी दलदलहरूले – बाइबलीय इडेन गार्डनको प्रतिष्ठित घर – अत्यधिक उच्च पानीको तनावको सामना गर्छन्, जहाँ मानवीय मागपूर्ति गर्न नवीकरणीय आपूर्तिको ८० प्रतिशतभन्दा बढी निकासी गरिन्छ”, अध्ययनमा भनिएको छ।
यो क्षेत्र आगामी वर्षहरूमा तातो हुँदै जाँदा प्रवासी चराहरू बस्ने र बासिन्दाहरूले भैँसी पाल्ने दलदलहरूमा पानीको प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।
स्कटल्यान्डका अन्वेषक डेभिड लिभिङस्टोनले पुनः नामकरण गर्नुअघि मूल रूपमा मोसी–ओआ–तुन्या (‘गर्जने धुवाँ’) भनिने जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको भिक्टोरिया फल्सले बारम्बार खडेरीको सामना गरेको छ र कहिलेकाहीँ कम हुँदै गएको छ।
पेरुमा पूर्व–कोलम्बियाली सहर चान चान र यसको नाजुक एक हजार वर्ष पुरानो एडोब पर्खालहरूले नदीको बाढीको अत्यन्त उच्च जोखिमको सामना गरिरहेको युनेस्कोले बताएको छ।
चीनमा जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले तटीय बाढी निम्त्याइरहेको छ। बाढीले प्रवासी पानीका चराहरूले खाना पाउने माटोको भूमि नष्ट गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।