विराटनगर– मोरङको धनपालथान ५ की एक ७ वर्षीय बालिकाको जबरजस्ती करणीपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ।
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोपिला चुँडालले हत्यामा संलग्न आफन्तै रहेको खुलेको बताइन्।
प्रहरीले ती बालिकाको काका पर्ने २२ वर्षीय युवक पक्राउ गरेको छ। उनले घटना स्पष्ट ढङ्गले स्वीकार गरेको नभए पनि दिएको बयान र घटनाको प्रकृति हेर्दा उनैले बलात्कार पछि हत्या गरेको हुनसक्ने आधार देखिएको प्रहरीको दाबी छ।
शनिबार बिहान करिब ४ः ४५ बजे जिल्लाको धनपालथान गाउँपालिका–५ रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक ती बालिकाको शव फेला परेको थियो। उनको शरीरमा चोटपटक पनि देखिएको थियो।
बालिका राति आमाबुबासँगै सुतेकी थिइन्। तर, बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरूसँग छोरी नभएको थाहा पाएका थिए। त्यसपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए।
उनलाई ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। ती युवक विरुद्धमा बालिकाको हजुरबुबाले जाहेरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।