काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी द्वन्द्वमा मंगलबार बिहान युद्धविरामको घोषणा गरे । तर उक्त युद्धविराम दुई घण्टामै टुटेको छ ।
युद्धविराम सुरु भएको साढे २ घण्टापछि इरानले इजरायलमा ६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो । एक मिसाइल इजरायलको बिर्शेबा सहरको एक संरचनामा खस्यो । पाँच जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् ।
इरानी आक्रमणको बदलामा इजरायलले पनि आफ्नो सेनालाई तेहरानमा आक्रमणको आदेश दियो । केही समयअघि मात्र इरानको राजधानी तेहरानको रडार साइटमा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाको रेडियोले यो आक्रमणको पुष्टि गरेको छ ।
ताजा आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर इरानमाथि आक्रमण रोक्न भनेका छन् । अल जजीराका अनुसार नेतान्याहुले ट्रम्पलाई भने, ‘यो आक्रमण रोक्न सकिँदैन । किनकी इरानले युद्धविरामको उल्लंघन पहिला गरेको हो । र जवाफ दिनु जरुरी छ ।’
दुवै देशबीच १२ दिनदेखि युद्ध जारी छ । आज बिहान पौने चार बजेतिर ट्रम्पले युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । बिहान ११ बजे उनले एक पोस्ट गर्दै युद्धविराम लागू भएको र यसलाई नतोड्न अनुरोध गरेका थिए ।
यस्तै ट्रम्प इरानमा सत्ता परिवर्तनको कुरालाई लिएर आफ्नो बयान बदलेका छन् । मंगलबार नेदरल्यान्ड्सको हेमा नाटो शिखर सम्मेलनका लागि जाँदै गर्दा एयरफोर्स वन मा मिडियासँग कुरा गर्दै भने, ‘म सत्ता परिवर्तन चाहँदिन । म चाहन्छु कि छिट्टै शान्ति कायम होस् ।’
उनले सत्ता परिवर्तनले अशान्ति फैलिने र उक्त अशान्ति देख्न नचाहेको बताएका छन् । दुई दिनअघि मात्र उनले इरानमा सत्ता परिवर्तनको संकेत गरेका थिए ।
इरानी सेनाका इन्टेलिजेन्स चिफ मारिए
वाई नेट मिडियाका अनुसार इरानी सेना इस्लामिक रिभोल्यूशनरी गार्ड्सका इन्टेलिजेन्स डेप्यूटी चिफ अली रजा लतीफी इजरायली आक्रमणमा मारिएका छन् । यद्दपि रिपोर्टमा यो आक्रमण कुन र कहिले भएको हो भन्ने खुलाइएको छैन ।
यस्तै ट्रम्पले इरान–इजरायल युद्धका बीच एक अर्को बयान दिएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसियलमा एक पोस्ट गर्दै उनले चीन अब इरानबाट तेल खरिद जारी राख्न सक्ने बताएका छन् । उनले भनेका छन्, ‘चीन अब इरानबाट तेल खरिद गर्न सक्नेछ । अपेक्षा छ अमेरिका पनि धेरै तेल खरिद गर्ने छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।