काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।
विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।
नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध मुद्दा चलाएको छैन ।
त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटान गरेर उजुरी दिए पनि प्रहरीले गृह प्रशासनको संरक्षण पाएका आरोपीहरूलाई संरक्षण गरेको भन्दै आलोचना भएको छ । सोमबारको छलफलमा पनि निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकाहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरेका थिए । केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखितपत्र प्रस्तुत गरेका छन् ।
असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको समेत उनले बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।