काठमाडौं– नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक टि२० अन्तर्राष्ट्रिय सिरिज को घोषणा गरेको छ।
नेपालले दुईपटकको टी२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ ।
आगामी सेप्टेम्बरमा यूएईको शारजाहमा टी२० शृंखला हुनेछ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी–२० आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।
यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।
क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।
यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० शृंखला खेलेको थियो ।
खेल तालिका:
पहिलो खेल : २७ सेप्टेम्बर २०२५
दोस्रो खेल : २८ सेप्टेम्बर २०२५
तेस्रो खेल : ३० सेप्टेम्बर २०२५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।