काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक लगायतलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन एवम् कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न पुनः आग्रह गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरुलाई आग्रह गरेका हुन् ।
शिक्षकहरुको आफ्ना पेसागत हकहित र सुरक्षा साथै विद्यार्थीको अध्ययन र भविष्य सँगसँगै जानुपर्ने विषय भएको उल्लेख गर्दै बोर्डले यस्तो अपील गरेको हो ।
‘आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेसागत उत्तरदायित्वकै रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदा झैँ सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासङ्घ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, बोर्डले विद्यार्थीहरुलाई पनि परीक्षा तयारीका लागि धैर्यताका साथ निरन्तर लाग्न अनुरोध गर्दै यस सम्बन्धमा अभिभावक तथा अन्य सम्बन्धित सरोकारवाला पक्षबाट समेत समन्वय र सहयोगको अपेक्षा गरेको जनाएको छ ।
दुई हप्तादेखि शिक्षकहरु शिक्षा विधेयक पारितको माग गर्दै आन्दोलनरत छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।