काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो। आजको भेट नियमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले बताए।
सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका हुन्।
भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘विगतमा पनि राजनीतिक संयन्त्र र कार्यदलहरूमार्फत् नमिलेका विषय हल गर्ने चलन थियो नै, अब पनि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘दुवै नेताहरूले सम्भवतः छिटै संयन्त्रमार्फत् विषयहरूलाई सहजीकरण गर्न अग्रसरता लिनुहुन्छ।’
संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन्। हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयन्त्रको संयोजक छन्। नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ।
देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन्। बैठक बेलुका ६ बालुवाटारमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।