काठमाडौं– काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सहकार्य गर्न आतुर रहेको बताएका छन्।
काठमाडौंबाट निर्वाचित सांसदहरुलाई सामाजिक सञ्जालमार्फत् बधाई दिँदै बालेनले भनेका छन्, ‘काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ। तपाईहरुसँग सहकार्य गरी काठमाडौं बनाउन हामी आतुर छौँ।’
खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने उल्लेख गर्दै बालेनले नवनिर्वाचित सांसदहरुबाट सहयोगको अपेक्षा व्यक्त गरेका हुन्।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्:
भर्खर सम्पन्न निर्वाचन(मा) सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ। निर्वाचितहरुलाई बधाई र शुभकामना छ।
काठमाडौं महानगरपालिका देशकै राजधानी हो। देश भरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ। काठमाडौं महानगर भित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ। तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ। खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ।
काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ। तपाईहरुसँग सहकार्य गरि काठमाडौं बनाउन हामी आतुर छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।