काठमाडाैं-पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाइएको भन्दै आपत्ति जनाएको छ।
नाट्टाका अध्यक्ष रमेश थापाले साेमबार विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पुर्याएको भन्दै आपत्ति जनाएका हुन्।
'कोभिड–१९ पछि विस्तारै चलायमान हुने सकारात्मक सङ्केत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ\, विज्ञप्तिमा भनिएको छ ।
सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत अध्यक्ष थापाले आग्रह गरे। नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।