बाजुरा– बाजुराको बुढीगंगा नदीमा आएको बाढीले झोलुंगे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ। पुल बगाएकाले नदी तर्न नसक्ने अवस्था हुँदा गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।
प्रहरी र गाउँपालिकाको टोली सोमबार नै उक्त गाउँतर्फ हिँडेको थियो। नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए।
पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ। त्यहाँ कोही जान सकेको छैन भने सञ्चार सम्पर्क पनि छैन। बाढीले कति क्षति भयो भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले जनाएको छ। पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घरसमेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताए।
अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन्। हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।
बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयवासीले बचाउन नसकेको स्थानीयले जनाएका छन्। खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने बताए। गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइकिएको र उद्धारका लागि पहल भइरहेको बताए।
बालिका मृत फेला
त्रिवेणी नगरपालिका वडा नं ८ कालापानीस्थित बूढीगंगा नदी छेउमा एक बालिका मृत भेटिएकी छन् । प्रहरीका अनुसार बालिका त्रिवेणी–८ पन्ताली घर भएका खडक लुहारकी सातमहिने छोरी रितु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए।
बालिकाका बाबुका अनुसार मंगलबार बिहान आमाछोरी घरबाट निस्केकोमा बालिकाकी आमा पनि सम्पर्कमा छैनन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।