काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले युवाहरुको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रुपान्तरण गर्नका लागि सवैले सहयोग गर्नुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको युवा उद्यमशिलता प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नका लागि सहजीकरणको नेतृत्व गर्दै जोखिम उठाउने गरी हौसला बढाउन र सफलताको मार्गचित्र देखाउन जरुरी रहेको समेत बताएका हुन्।
यस्ता कार्य सरकारले मात्रै नभइ निजि क्षेत्र, शैक्षिक क्षेत्र, बित्तिय निकाय र नागरिक समाज मिलेर गर्नुपर्नेमा उनले जोड दिए।
उपराष्ट्रपति यादवले युवाहरुलाई व्यवसाय सुरु गर्न आवश्यक पूँजीको पहुँच सुनिश्चित र त्यसका लागि आवश्यक सिप र ज्ञान प्रदान गर्न अब ढिलाइ गर्न नहुने धारणा राखे। उनले व्यावसायिक योजना बजारको पहुँच ब्रान्डिङ लगायतका विषयमा मार्गदर्शन गर्न जरुरी रहेको बताए। युवाका आवाजलाई नीति निर्माणमा समावेश गर्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने उनले बताए।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकमा लगानीको वातावरण बनाएपनि पुँजी प्रवाह हुन नसकेको बताए। उनले बस्तुका साथै सेवालाई समेत निर्यात गर्न सक्ने अवस्था सिर्जना भएको भन्दै युवाहरुले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।
त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राज्यको सिमित स्रोत साधानका कारण युवाहरुलाई स्वदेशमा रोजगार दिन नसकेकाले लाखौ युवाहरु विदेश जान बाध्य भएको बताए। उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक शिक्षाको आवश्यकता रहेको उल्लेख गरेका छन्।
स्वदेशमा नै केहि गर्न चाहने युवाहरुलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने उहाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।