काठमाडौं – ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा डिफेन्डिङ च्याम्पियन नेपाल एसिसी मेन्स यु-१६ इस्ट जोन कप २०२५ मा सेमिफाइनल प्रवेश गरेको छ।
एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रममा आइतबार सम्पन्न खेलमा नेपालले इण्डोनेसियामाथि ३ सय ७० रनको विशाल जित हासिल गर्यो। ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो।
इण्डोनेसियाका लागि कविन निरज चन्दा ३४ बलमा १५ तथा दिभित नन्दा ३१ बलमा १४ रनमा आउट भए। इण्डोनेसियाका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। इण्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिनप्रसादले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए। शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १३२ रन बनाएका थिए। परिमार्जन यादव २८ बलमा ७१ रन बनाएर आउट भए भने, रौनक श्रीवास्तवले ७१ बलमा ८८ रनको योगदान दिएका थिए। यस्तै जोय थापाले ३९ बलमा ५५ रनको योगदान दिएका थिए।
इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिएका थिए।
नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो। नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।