काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐन सम्बन्धी विधेयकमाथि गहिरो छलफल आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सरोकारवाला र सम्बन्धित सबैका रायसुझाव लिएर विधेयकमाथि दफावार छलफल गर्नु पर्ने बताएका हुन्।
‘प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लामो समयदेखि छलफलमा थियो। ढिलै भए पनि सरकारले प्रस्तुत गरेकोमा धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘धेरै वर्षपछि यो विधेयक प्रस्तावित भएको छ। अब सम्बन्धित सरोकारवाला सबैको राय सुझाव लिएर विधेयकमाथि व्यापक छलफल गरौं र अधिकतम परिमार्जनसहित पारित गरौं।’
उनले आफू प्रधानमन्त्री हुँदा पनि प्रहरी ऐन विधेयकका विषयमा लामो छलफल भएको चर्चा गरे। ‘सैद्धान्तिक र नीतिगत विषय लामो समयदेखि छलफल हुँदै आएका हुन्। म सरकारको नेतृत्वमा हुँदा पनि प्रहरी विधेयकमा छलफल हुने र अगाडि बढाउने प्रयास गरेको थिएँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।