काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण सङ्घीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको आरोप लगाएका छन्।
बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरेका हुन्।
‘सरकारकै कारण विधेयक छिटो छिटो अगाडि बढेको छैन। यसमा गम्भीर रूपमा लियोस्। विधेयकलाई अगाडि बढाउन समितिको सभापतिको पनि ध्यान गएको देखिएको छैन। त्यसमा म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।
उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए झन् राम्रो हुने बताएका थिए। साथै प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक आउनुपर्ने पाण्डेको धारणा थियो। उनले अहिलेको डिजिटललाइज युगलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन सुझाव दिए।
‘डिजिटलाइज युगमा सम्बोधन गर्ने गरी विधेयक आउनुपर्छ। प्रदेशले प्रहरी विधेयक बनाइसक्यो तर सङ्घमा अहिलेसम्म अगाडि बढ्न सकेको छैन। कार्यतालिकै बनाएर लैजाऔँ’, पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।