काठमाडौं– प्रतिनिधिसभाको असार महिनाको पहिलो पाक्षिक क्यालेन्डर तय भएको छ। क्यालेन्डरअनुसार असार १४ गतेसम्म ११ वटा बैठक बस्नेछ।
सङ्घीय संसद् सचिवालयले आज असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ।
क्यालेन्डरमा असार १० गतेसम्म निरन्तर र त्यसपछि १४ गते बैठक बस्ने उल्लेख छ। यद्यपि रास्वपाको सदन अवरोधका कारणले क्यालेन्डरमा भएअनुसार आज बैठक बसेको छैन।
त्यस्तै‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ असार १५ गते अगाडि प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत नहुने भएको छ। सङ्घीय संसद् सचिवालयका असार १४ गतेसम्मका लागि तय गरेको कार्यतालिकामा यो विधेयकमाथि छलफल र पारित गर्नका लागि पेस गर्ने कार्यसूची छैन।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले निजामती कर्मचारी विधेयक असार १४ गतेसम्मको कार्यतालिकामा नराखिएको बताए। ‘बजेट पास गर्ने चाप छ। त्यसैले निजामती कर्मचारीसम्बन्धी विधेयक परेको छैन। अब १५ गते पछाडिको कार्यतालिकामा मात्रै पर्ला,’ प्रेस संयोजक अधिकारीले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।