काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्।
उनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखेको दाबी गरे पनि बजेटमा २ लाखसम्मका आयोजना रहेको दाबी गरे।
शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ। यो कुल बजेटको ६.०३ प्रतिशत हो। मन्त्रालयको आगामी बजेट चालू वर्ष २०८१।८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो। बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्भित रहेको बताए। उनले योजनाहरू आफूखुसी राखेको स्पष्ट देखिएको पनि बताए।
पुनले भने, ‘योपटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो। गत वर्ष ९२ अर्ब थियो। यस पटक १ खर्ब १८ अर्ब पुगेको छ। २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन अरु अरुतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ।’
बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताए। उनले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताए। नीति तथा कार्यक्रममाथि पनि पहिलोपटक आफ्ना धारणा राखेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।