काठमाडौँ– भिजिट भिसा प्रकरण र संसद् सञ्चालनको विषयमा विपक्षी र सत्तारुढ दलबिच भएको छलफल निष्कर्षविहीन भएको छ।
शुक्रबार बानेश्वरमा बसेको सत्ता र प्रतिपक्ष दलबिचको छलफलमा सहमति जुट्न नसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका हुन्।
यसअघि बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो। उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने ठहर विपक्षी दलले गरेका छन्।
माओवादी अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद् बैठक बस्न नसक्ने निष्कर्ष निकालेको हो।
आफूहरूको अडान यथावत रहेको भन्दै परियारले भने,‘सत्तापक्ष पनि आफ्नै अडानमा छ’,आजको प्रयास पनि सफल हुन सकेन।’
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन्।
सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन्।
तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन्।
सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ।
प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।