काठमाडौं – एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका हुन्।
‘यो पूर्वाग्रहपूर्ण छ। यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ। अहिले मुद्दा दायर गर्नु किन पर्यो ?,’ पाण्डेले भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो। ओलीजीको निर्देशनमा भएको कुरा हो यो।’
पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए।
भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा परेको छ।
करिब ३१५ रोपनी जग्गा गैरकानुनी रुपमा बिक्री गरिएको खुलासा भएपछि अख्तियारले यस भ्रष्टाचारको विषयमा मुद्दा दायर गरेको हो। अख्तियारले आफ्नो अनुसन्धान प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो। यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।