काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै छन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान लागेकी हुन् ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली आज साँझ बेइजिङ जाने छ ।
भ्रमण टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी र एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठसहित १५ जना सहभागी हुने छन् । चीनमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट हुने सम्भावना रहेको एमाले विदेश विभागले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वउपाध्यक्षसमेत रहिसकेकाले पार्टीको समेत प्रतिनिधित्व गर्ने एमाले विदेश विभाग प्रमुख महासेठले बताए ।
चीनमा रहँदा उद्योगमन्त्री दामोदर भण्डारी र एमाले विदेश विभाग प्रमुख महासेठले वक्ताको रूपमा एक–एक वटा कार्यक्रममा सहभागी हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।