एजेन्सी – पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट हुँदा ४ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी ५ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विस्फोटमा परी अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले आर्मी पब्लिक स्कूलका बालबालिकालाई लक्षित गरी बसमा आत्मघाती आक्रमण भएको जानकारी गराएका छन् । यसैबीच सेनाले एक विज्ञप्ति जारी गर्दै ४ बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।
यस विद्यालयले त्यस क्षेत्रमा बसोबास गर्ने सैनिक र सर्वसाधारणका छोराछोरीलाई सेवा प्रदान गर्दछ । सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरमा एउटा झ्याल फुटेको स्कूल बसको भग्नावशेष, र घटनास्थल नजिकै राखिएको स्कुल ब्यागको थुप्रो देखिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एक वक्तव्य जारी गर्दै ‘क्रूरता’को सिकार भएका बालबालिकाका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् । शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप पनि लगाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।