काठमाडौं –सङ्खुवासभाको मकालु गाउँपालिका २ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् ।
विश्व कीर्तिमानका लागि मकालु २ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले जानकारी दिए । कीर्तिमानीका लागि मुक्कुट, उनका भाइहरू ङिमा दोर्ची शेर्पा, आङ डी शेर्पा, पेछुम्वे शेर्पा, बहिनी पासाङ शेर्पा र छोरी २३ वर्षीया एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् ।
“एउटै बुवाआमाका पाँच छोराछोरीसहित छ जनाले आरोहण गरेर कीर्तिमानी राख्ने हाम्रो परिवार पहिलो भएको छ”, बहिनी पासाङ याङ्जीको दाबी छ,“भदैनी २३ वर्षीया एनिमा मकालु हिमाल आरोही मध्ये हालसम्मै कान्छी महिला भएको हाम्रो दाबी छ ।”
एकै साथ आरोहण गरेर कीर्तिमान राखेको भन्दै उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा र शेर्पा सङ्घले सम्मान समेत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।