काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)का सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।
उनले जेठ ४ गते बिहान ९ः२० बजे ८ हजार ८४८ दशमलव ८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएका हुन् । सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले उक्त जानकारी गराएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड र हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।