काठमाडौं – काठमाडौँको तीनकुनेमा बसले भ्यान र भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
तीनजना घाइते भएका छन् । नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।
तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो । भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिएको हो । भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
रातो बत्ती बलेर रोकिने क्रममा बसेले अगाडि रहेको भ्यानलाई र भ्यानले मोटरसाइकललाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।
मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ । भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ ।
बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोहराले जानकारी दिए । भ्यान र मोटरसाइकल र बस पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।