काठमाडौँ – नारायणी अस्पताल, वीरगञ्ज पर्साको आकस्मिक कक्ष भवन निर्माणको ठेक्काका भ्रष्टाचार गरेको आरोपमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर, नायब सुब्बा सुशीलप्रसाद यादव र लेखापाल सुदीपकुमार माझीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
यस्तैगरी शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरीसँगै मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध पनि आरोपपत्र दायर गरेको छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउनुपर्ने काममा ठेकेदारसँगको मिलेमतोमा एकमात्र प्रतिस्पर्धी लक्षित गरी ठेक्का सम्झौता गरिएको पाइएको छ।
आपसी मिलेमतोमा सार्वजनिक निर्माणको कार्यमा प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का सम्झौता गराई नारायणी अस्पताललाई १ करोड ८४ लाख ३८ हजार रुपैयाँ बढी हानि पुर्याएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले ठाकुर, साह, अन्सारी, यादव र माझीविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ ररुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन बमोजिमको सजाय माग गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।