काठमाडौँ – भारतको ओडिसा राज्य स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की एक नेपाली छात्रा प्रिसा साह मृत फेला परेकी छन् । बिहीबार शंकास्पद मृत फेला परेसंगै परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी थिइन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन् ।
उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको छैन । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
लगातार दुई नेपाली छात्राको मृत्यु भए पछि भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले पनि दोषीलाई कारबाही गर्न माग गरेको छ ।
एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
यता ओडिसा राज्य सरकारले पनि त्यस बिषयमा छानबिन सुरु भएको जानकारी दिएको छ । स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।