काठमाडौं – लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हराएको हो । पराजित राजस्थान भने प्रतियोगिताबाटै बाहिरिएको छ । राजस्थानको प्ले अफ खेल्ने सम्भावना सक्किएको हो ।
२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा सीमित भयो । राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे । राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन तथा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो । मुम्बईका लागि प्लेयर अफ द म्याच समेत घोषित रेन रिकेल्टनले ३८ बलमा ६१ रन जोडे । उनले रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे । १२ औँ ओभरको पाँचौँ बलमा थक्सेनाले उनलाई बोल्ड गरेका थिए । रोहितले ३६ बलमा ५३ रन जोडे । सूर्य कुमार यादव र हार्दिक पाण्डे दुई रनले अर्धशतक बनाउन चुके । यादव र पाण्डेले समान २३/२३ बलमा ४८/४८ रन जोडे ।
मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने राजस्थान ११ खेल खेल्दा तीन जित र आठ हारसहित ६ अंक बनाएर तीन खेल बाँकी हुँदै बाहिरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।