जनकपुरधाम–वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ।
दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर सोभित्र कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए।
तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो। शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन्।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका छन्। झडपमा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन्। सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।