काठमाडौं– नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना आजलाई स्थगित गरिएको छ।
राति ८ बजेसम्म चलेको मतगणनाअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र अगाडि देखिएका छन् ।
उनले प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई २७३ मतले पछाडि छाडिसकेका छन् । श्रेष्ठले मात्र ४३४ मत पाएका छन् । मिश्रले भने ७०७ मत प्राप्त गरेका छन् ।
बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ । हाल ११ सय ६० भन्दा बढी मत गणना सम्पन्न भइसकेको छ ।
यस्तै अध्यक्षका अन्य उम्मेदवारहरू राजु कैतीले मात्र ५ मत पाउँदा उज्वल घिमिरेले २ तथा आशीष पौडेलले जम्मा ६ मत प्राप्त गरेका छन् ।
यसैगरी मिश्र प्यानलका महासचिव उम्मेदवार केदारप्रसाद कोइरालाले ७१२ मत प्राप्त गर्दा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३७५ मत ल्याएका छन् । महासचिवका अर्का उम्मेदवार हरिशरण कार्कीले भने २७ मत मात्र ल्याउन सकेका छन् ।
आज झापा, बारा, मोरङ, इलाम, विराटनगर, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिराहा, सर्लाही र रौतहट गरी १२ वटा मतदान केन्द्रको मतगणना गरिएको हो । बाँकी मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिएका छन् ।
तीन वर्षे कार्यकालको २५ सदस्यीय पदाधिकारीका लागि निर्वाचनमा सत्तापक्षीय नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बीच गठबन्धन भएको छ । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।
सत्तापक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका मिश्र उम्मेदवार बनेका हुन् भने एमालेनिकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।
यस्तै यता प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट स्वतन्त्र कानुन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको छ । जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपानिकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् । जसलाई नेकपा एसलगायतका दलनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।