काठमाडौं– काठमाडौं महानगरपालिकाले सहरका व्यवसायिक पहिचानका राखिएका अनधिकृत २७५ वटा परिचय पाटी (होडिङ बोर्ड) हटाएको छ।
मापदण्डविपरीत र अनुमति नलिई राखिएका परिचय पाटी हटाउने कार्यक्रमको थालनी भएको पहिलो दिन कार्तिक २८ गते काठमाडौंका ४ क्षेत्रबाट यी सामग्री हटाइएको हो।
महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाका अनुसार पूर्वमा गौशालाबाट ९४, पश्चिममा कालीमाटीबाट ५३, उत्तरमा महाराजगञ्ज चोकबाट ८० र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको महानगरले जनाएको छ।
३० वर्गफुटसम्म आकारमा राखिएको एउटामात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए तथा ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको महानगरको भनाइ छ।
यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन्। उनीहरूले भर्याङ, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन्। उनीहरूलाई हेल्मेट, पञ्जालगायत व्यक्तिगत सुरक्षाका साधन उपलब्ध गराइएको महानगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।