काठमाडौं– नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। केहीबेरअघि सम्पन्न दुई विभागीय टोलीबीचको फाइनल खेलमा एपीएफले साविक विजेता आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर एक सय ७९ रन बनायो। एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
एपीएफका लागि भुवन कार्कीले सर्वाधिक ५५ रन बनाए। उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हान्दै अर्धसतकीय पारी खेलेका हुन्। यस्तै सुमित महर्जनले ३४ रन बनाए। उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे। यस्तै कप्तान शरद भेषावकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए। बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १-१ विकेट लिए।
यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मीका लागि रोहितकुमार पौडेलले ४९ बनाए। यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए। बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले ३-३ तथा किशोर महतोले २ विकेट लिए।
यसअघि आर्मीले शुक्रबार नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। एपीएफले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेका हुन्।
प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए।
जितसँगै एपीएफले १० लाख पुरस्कार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।