काठमाडौं– अहिले जहाँ पाटन दरबार संग्रहालय छ, ठ्याक्कै त्यहीँ १४औँ शताब्दीसम्म बौद्ध गुम्बा थियो। गुम्बालाई भत्काएर मल्ल राजाले दरबार बनाए। पछि अनेक प्रयोजनका लागि उक्त दरबारको प्रयोग भयो। २०४६ सालसम्म त्यसको एउटा भागमा झ्यालखाना थियो।
अहिले यही ठाउँमा कला प्रदर्शनी भइरहेको छ। राजा महाराजाहरूले सीमान्तकृतको संस्कृति, भाषा र पहिचानमाथि इतिहासदेखि गरिरहेको अतिक्रमणको प्रतीकात्मक सन्देश दिन यो ठाउँमा समेत ‘काठमाडौं ट्रेनाले’ आयोजना गरेको ट्रेनालेका क्युरेटर हितमान गुरुङले बताए।
काठमाडौं ट्रेनाले भइरहेको अर्को ठाउँ बहादुर शाह बैठकसँग सम्बन्धित इतिहास पनि गुरुङले सुनाए। ‘उहिले पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गर्दा त्यही बैठक कोठामा काठमाडौं वरिपरिका राज्यमाथि आक्रमण गर्ने योजना बनाएको भनिन्छ। त्यहाँ हतियार र खरखजाना राखिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त्यस ठाउँलाई हामीले आदिवासी र सीमान्तकृतका पक्षमा रचिएका सिर्जनाको प्रदर्शनीस्थल बनाएका छौँ।’

पाटन संग्रहालय र बहादुर शाह बैठकको अध्ययन गर्दै जादा उत्पीडित समुदायमाथि राजा रजौटाहरूले गरेको दमन र शोषण थाहा भएको र त्यसविरुद्ध त्यही ठाउँमा कला प्रदर्शनी गर्ने सोच आएको गुरुङले बताए। ‘सीमान्कृत समुदाय दमनमा परेपछि जीवनयापनका लागि व्यापार गर्न र अरु विभिन्न काम खोज्दै बसाइसराइँ गर्ने गरेको पाइयो। अनि, कला, संस्कृति र भाषा परिवर्तन हुँदै गयो। अहिले तिनै विषयमा गरिएका सिर्जना प्रदर्शनीमा राखिएको छ,’ उनले भने।
पाटन दरबार संग्राहलय र बहादुर शाह बैठकमा मात्र नभइ नेपाल कला परिषद् बबरमहल, बबरमहलकै सिद्धार्थ आर्ट ग्यालरी र बौद्धस्थित तारागाउँ म्युजियममा पनि काठमाडौं ट्रेनाले आयोजना भइरहेको छ। काठमाडौं ट्रेनालेले काठमाडौंलाई कलामय बनाएको छ।
फागुन १७ बाट सुरु भएको काठमाडौं ट्रेनाले चैत १७ गतेसम्म चल्नेछ। यो कला प्रदर्शनी तीन वर्षमा एक पटक हुन्छ। यसअघि यस्तो प्रदर्शनी ‘काठमाडौं इन्टरनेशनल आर्ट फेस्टिभल’ का नाममा हुन्थ्यो। सन् २०१७ देखि काठमाडौं ट्रेनालेको नामबाट हुन थालेको हो।
प्रदर्शनीको आयोजना सन् २००९ बाटै गर्न थालिएको हो। सन् २०२१ मा हुनुपर्ने नयाँ संस्करण कोभिड–१९ का कारण एक वर्ष धकेलिएको हो। यसपटक पाँच वर्षको अन्तरालमा प्रदर्शनी भएको काठमाडौं ट्रेनालेका क्युरेटर गुरुङले बताए।

ट्रेनालेमा ४० देशका १३० कलाकारका कलाकृति राखिएका छन्। प्रदर्शनी काठमाडौंका पाँच ठाउँमा भइरहेको छ। यसअघिका प्रदर्शनीमा भन्दा यसपटक पाँचै ठाउँमा कलाप्रेमीहरूको भिड बढेको क्युरेटर गुरुङले बताए।
काठमाडौं ट्रेनालेको इभेन्टको क्युरेटर गुरुङ, शिलासा राजभण्डारी र कस्मिन कस्टिनास हुन्। यहाँ राखिएका नेपाली कलाकारका सिर्जनाले उत्पीडित समुदायको आवाज समेटिएको राजभण्डारीले बताइन्।
त्यसैगरी अन्य देशका कलाकारले पनि सम्बन्धित देशका आदिवासी र तिनको कला, संस्कृति, भाषा, परम्परालगायतलाई सिर्जनामा अँटाएका छन्। यो वर्षको अवधारण नै जात, धर्म लिङ्ग, भाषा, भूगोल, परम्पराका आधारमा हुने विभेदविरुद्ध कला सिर्जनालाई समेट्नु रहेको क्युरेटर गुरुङले बताए।

कला परिषद् बबरमहल नजिकै रहेको माइतिघर मन्डल पनि ट्रेनालेमा समेटिएको छ। सामाजिक, आर्थिक र राजनीतिक मुद्दा उठाउने ठाउँ भएकाले कलामा पनि प्रस्तुत गरिएको उनको भनाइ छ। उनका अनुसार यसपटकको प्रदर्शनीमा सीमान्तकृत वर्गका सवाल, महिला हिंसा, जातीय भेदभाव, छुवाछुत, अन्धविश्वासजस्ता विषय समेटिएको छ।
प्रदर्शनीमा राखिएका कलामा भूत र वर्तमान मात्र नभइ भविष्यका विषय पनि आएका छन्। कलाकारले ३० हजार वर्षपछि आदिवासीको जनजीवन कस्तो होला भनेर परिकल्पना गरेको उनले बताए।

कर्णाली र सुदूरपश्चिमा भएका पुराना सामग्री, जो लोप हुँदै गएको छन्, तिनलाई पनि राखिएको छ। त्यहाँको दलित समुदायले गाउने हुड्केली, जालिया र चाप्कीलाई कलामार्फत प्रस्तुत गरिएको छ। नेपालको सन्दर्भमा वैदेशिक रोजगारी, गरिबी, स्वास्थ्य संकट, आर्थिक मन्दीजस्ता विषय त आएकै छन्। कोभिड–१९ पछिको जनजीवनलाई पनि समेटिएको छ।
यो वर्ष दैनिक एक हजार जनाले प्रदर्शनी अवलोकन गर्ने गरेको गुरुङले बताए। प्रदर्शनमा आउने युवाको संख्या धेरै रहेको उनको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।