काठमाडौं- आगामी माघ ७ गतेदेखि सुरु हुने राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेल र अन्तिम खेल दशरथ रंगशालामा हुने भएको छ। अखिल नेपाल फुटबल संघले शुक्रबार रंगशालामा महिला लिगको सुरुवाती खेल र अन्तिम खेल खेलाउने निर्णय गरेको हो।
दुई खेलमात्रै रंगशालामा हुँदा बाँकी सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने एन्फाले जानकारी दिएको छ।
महिला लिग यही माघ ७ देखि फागनु ७ गतेसम्म सञ्चालन हुँदैछ। सात टिम रहने प्रतियोगितामा कुल ४२ खेल हुनेछ। एन्फाले राष्ट्रिय महिला लिगसम्बन्धी निकालेको नियमअनुसार एउटा टिमले २३ खेलाडी र सात अफिसियल गरी ३० सदस्यसम्म राख्न पाउनेछन्। विभागीय टिमबाहेक हरेक क्लबले चार जना विदेशी खेलाडी राख्न र खेलाउन पाउने छन्।
एन्फाले प्रतियोगिताभर खेलाडी तथा अफिसियललाई कोरोना लागे आइसोलेसनमा राखेर उपचार गर्ने छ भने प्रतियोगिता अघि पिसिआर परिक्षण गर्दाको सबै खर्च पनि व्यहोर्नेछ। त्यस्तै, एन्फाले टिम तयारीको लागि एक लाख र कोभिड रिलिफ फण्डअनुरुप थप ५० हजार दिने पनि निर्णय गरेको छ।
प्रतियोगिताको विजेताले १५ लाख नगद पाउँदा उपविजेताले आठ लाख पाउने छन्। त्यस्तै, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख पाउने एन्फाले जनाएको छ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउँदा विधागततर्फ उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही ५० हजार नगद पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।