काठमाडौं- इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले आउने आइतबार हुने लिभरपुलविरुद्धको खेल ठूलो महत्वको रहेकाले आफूहरु शान्त रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
सन् २०१२-१३ को लिग जितेपछि युनाइटेडको अहिलेको अवसरमा यसअघि देखिएको थिएन। मंगलबार राति ब्रन्लीलाई १-० ले हराएको युनाइटेड अंक तालिकामा शीर्ष स्थानमा छ। युनाइटेडको १७ खेलमा ३६ अंक रहेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको १७ खेलमा ३३ अंक रहेको छ।
आइतबार हुने खेलमा लिभरपुललाई हराउन सके युनाइटेडले छ अंकको अग्रता पाउनेछ। यसैले लिभरपुल र युनाइटेडबीचको खेल हेर्नलायक हुने पोग्बाले बताएका छन्। ‘यो सबैका लागि निकै राम्रो खेल हुनेछ। यो आउने समयको सबैभन्दा ठूलो खेल हो, त्यसैले त्यसका लागि सबै तयार भएर बसौँ’ उनले भनेका छन्।
ब्रन्लीविरुद्धको जितले लिभरपुलसँग खेल्नुअघि शीर्ष स्थानमा रहने विचारसहित खेलेको भन्दै पोग्बा भन्छन्, ‘हामी लिरभपुलसँग खेल्नुअघि शीर्ष स्थानमा रहन ब्रन्लीलाई जित्नुपर्छ भन्नेमा नै थियौँ। हामी अब शान्त रहेर बढ्नुपर्छ, ठूलो अवसर पनि हो हेरौँ के हुन्छ।’
म्यानचेस्टर युनाइटेड पछिल्ला १५ प्रिमियर लिग अवे खेलमा अपराजित रहेको छ। जसमध्ये १२ खेलमा जित र ३ खेल बराबरी गरेको छ। पछिल्लो पटकको हार लिभरपुलकै मैदान एन्फिल्डमा भएको थियो।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सकेयर आफ्नो २५ महिनाको प्रशिक्षण समयमा उतारचढावको अवस्थामा नै देखिन्छन्। यो सिजनका पछिल्ला खेलले शीर्ष स्थानसम्म पुग्न सकेको युनाइटेडमा उनीमाथि विश्वास बढेको छ।
२०१२-१३ मा २०औँ प्रिमियर लिग उपाधि जितेको युनाइटेडमाथि अहिले २१औँ उपाधिको विश्वास गर्न सक्ने आधार देखिएका छन्। अझ २००६-०७, २००७-०८, २००८-०९ मा लगातार तीन उपाधि जितेर एकछत्र राज गरेको युनाइटेडको १० वर्षअघिको समय हेर्ने हो भने अहिले शीर्ष स्थानमा पुगेर नै खुसी हुनुपर्ने विगत होइन। तर पछिल्ला वर्षको कमजोर खेलका कारण युनाइटेडप्रतिको विश्वास कम हुँदै गइरहेको थियो।
यो सिजन लिगमा पछिल्ला आउन सक्ने ३३ अंकमा म्यानचेस्टर युनाइटेडले २९ अंक जोड्दै आफ्नो लय बनाइरहेको छ। यसैले लिरभपुलविरुद्धको खेलमा पनि युनाइटेडमा आत्मविश्वास देखिने आशमा प्रशिक्षक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।