काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरामा राष्ट्रिय पुरुष फुटबल टिमलाई अभ्यास गराउँदा बसोबासका लागि सुविधा सम्पन्न होटलको खोजी गरेको छ।
एन्फाले सोमबार विभिन्न मापदन्ड तोक्दै खेलाडीको लागि होटल खोजी गरेको हो। खेलाडी, अफिसियल तथा स्टाफहरुलाई थोरैमा १० देखि १५ दिनसम्म बस्नका लागि स्तरीय होटल खोजी गर्दै सूचना जारी गरेको हो। जसमा सात दिनभित्र एन्फालाई होटल सञ्चालकले इमेलमार्फत सम्पर्क गर्नुपर्ने छ।
५० जना क्षमता भएको, एसी कोठा, तीन सिंगल बेड रुम, अन्य दुई बेड रुम भएको तथा इन्टर नेट र लन्ड्री सुविधा भएको हुनु पर्ने एन्फाले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै, दिनको चार पटक खाना (दुई पटक नन भेज, बिहानको खाजामा एक ननभेज परिकार, बिहान र बेलुकाको खानामा दुई ननभेज परिकार उपलब्ध हुनु पर्ने सर्त राखेको छ। एक जनालाई दैनिक तीन लिटर पानी उपलब्ध हुनुपर्ने तथा मिटिङ हल, प्रोजेक्टर, फिटनेश सेन्टर र स्वीमिङ पुल भएको होटेल हुनु पर्ने एन्फाले मापदन्ड तोकेको छ।
अहिले नेपाली राष्ट्रिय फुटबल टिम विश्वकपको दोस्रो चरणको बाँकी खेललाई मध्यनजर गर्दै बन्द प्रशिक्षणमा छ। काठमाडौंमा करिब एक महिनादेखि अभ्यास गरिरहेको राष्ट्रिय टिमलाई पोखरामा अभ्यास गराउने एन्फाको तयारी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।