काठमाडौं– म्यानचेस्टर सिटी, टोटेनहम र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। आइतबार राति भएको खेलमा सिटीले बर्मिङहाम, टोटेनहमले मारिन र चेल्सीले मोरकेम्बलाई पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेका हुन्।
सिटीले बर्मिङहामलाई ३–० गोलअन्तरले पराजित गर्दा बेर्नार्डो सिल्भाले दुई तथा फिल फोडेनले एक गोल गरे। सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। सिल्भाले खेलको आठौं र १५ औं मिनेटमा गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाएका थिए। खेलको ३३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० गोलको जित दिलाए।
मारिनविरुद्ध टोटेनहमले भने फराकिलो जित निकाल्यो। मारिनलाई ५–० गोलको जित निकाल्दा टोटेनहमका कार्लोस भिनिसियसले ह्याट्रिक गरे। उनले पहिलो गोल गरेको १३ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए। २० औं मिनेटमा पहिलो गोल गरेका भिनिसियसले ३० औं र ३७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। लुकास मौराले ३२ औं मिनेटमा गोल गर्दा एल्फी डेभिनले ६० औं मिनेटमा गोल गर्दै टोटेनहमलाई ५–० गोलको जित दिलाए।
चेल्सीले भने मोरकेम्बलाई ४–० ले पराजित गरेको हो। चेल्सीको जितमा मासोन माउट, टिमो वेर्नर, क्यालुम हुड्सन र काइ हाभर्टजले गोल गरे। पहिलो हाफसम्म दुई गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।