काठमाडौं-बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलअन्तरले पराजित गरेको हो।
बार्सिलोनाका कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले समान २–२ गोल गरे। घरेलु टिम ग्रानाडाविरुद्ध पहिलो हाफमै तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दा ग्रानाडा भने १० खेलाडीमा झरेको थियो। खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए। ३५ औं र ४२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म ३–० गोलको अग्रता दिलाएका थिए।
खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले अर्को गोल थप्दा बार्सिलोना ४–० को अग्रतामा पुग्यो। ७८ औं मिनेटमा जेसुस भ्यालेजोले रातो कार्ड खाँदै मैदानमा बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो।
अन्य खेलमा भने साविक विजेता रियल मड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ। त्यस्तै, सेभियाले भने रियल सोसिडाडलाई ३–२ गोलअन्तरले पराजित गरेको छ।
जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। १८ खेल खेलेको बार्सिलोनाको ३४ अंक भएको छ। पराजित ग्रानाडाको १७ खेलबाट २४ अंक छ। लिगको शीर्ष स्थानमा भने एथ्लेटिको मड्रिड छ। एथ्लेटिको मड्रिडको १५ खेलबाट ३८ अंक छ। लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।