केप टाउन– दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टमा भारतीय कप्तान विराट कोहली ५ रनमै आउट भए। कोहलीसँगै भारतले पहिलो दिन मुरली विजयलाई १ रन र शिखर धवनलाई १६ रममै गुमाएको थियो। तर विराट कोहली आउट भएपछि भारतीय फ्यानले सोसल मिडियामा ट्रोल बनाएका छन्। कतिपय फ्यानले उनी आउट हुनुमा श्रीमती अनुस्का शर्मालाई दोष दिन समेत पछि परेनन्।
बलिउड अभिनेत्री अनुस्का र विराटबीच गत महिना विवाह भएको थियो। विवाहपछि विराटले पहिलो पटक मैदान उत्रिएका हुन्। दक्षिण अफ्रिका भ्रमणमा विराटसँगै अनुस्का पनि गएकी छिन्। पहिलो टेस्ट हेर्न उनी रंगशालामै उपस्थित भएकी थिइन्।
विराटको खेललाई लिएर अनुस्कालाई दोष दिइएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१५ को एकदिवसीय विश्वकपको सेमिफाइनल हेर्न अस्ट्रेलिया पुगेकी अनुस्कालाई धेरैले गाली गरेका थिए। अनुस्का खेल हेर्न जादा विराट आउट भएको कुतर्क गर्दै फ्यान आक्रोसित बनेका थिए।
भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको टेस्ट सिरिजको पहिलो खेलमा अहिले भारत पहिलो इनिङमा ब्याटिङ गरिरहेको छ। खराब सुरुवात गरेको भरातले ३ विकेट गुमाइसकेको छ।
भारत विरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा घरेलु टिम दक्षिण अफ्रिका २ सय ८६ रनमा अलआउट भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एबी डिभिलियर्सले सबैभन्दा बढी ६५ रनको योगदान गरे। जसप्रित बुमराहबाट बोल्ड हुनुअघि उनले ८४ बल खेलेर ११ चौका प्रहार गरे। कप्तान फाप डु फ्लेसिसले ६२ रनको योगदान गरे। क्वान्टन डेकले ४३ रन बनाए।
त्यसअघि खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले सुरुवाती ३ विकेट ५ ओभरभित्र गुमाएको थियो। १२ रन भित्र गुमाएका तीनै विकेट भुवनेश्वर कुमारले लिए। डिन एल्गर शून्य, एइडेन मार्क्रम ५ र हसिम अम्ला ३ रनमा आउट भएका थिए।
कुमारले क्वान्टन डेक ककलाई पनि सिकार बनाएपछि ४ विकेट लिन सफल भए। भारतका लागि रविचन्द्रन आस्विन २ विकेट लिँदा मोहमद सामी, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १–१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।