वेलिङटन– पाकिस्तान विरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिमले जित निकालेको छ। शनिबार वेलिङटनमा वर्षाले प्रभावित खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई डिएल मेथडमा ६१ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको घरेलु टिम न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १५ रन जोड्यो। न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले एकदिवसीय खेलमा १०औं तथा समग्र क्रिकेटमा २७औं शतक प्रहार गरे। विलियमसनले टेस्ट क्रिकेटमा १७ शतक प्रहार गरिसकेका छन्। आउट हुनुअघि १ सय १५ रनको योगदान दिएका उनले १ सय १७ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
ओपनरद्वय मार्टिन गुपटिलले ४८ र कोलिन मुनरोले ५८ रन जोडे। हेनरी निकोल्सको ५० रन न्युजिल्यान्डका लागि महत्वपूर्ण सावित भयो।बलिङतर्फ पाकिस्तानका हसन अलिले ३ विकेट लिए। मोहमद अमिर, रुमन रहिस, फाहेद असरफ र फखर जमानले १– १ विकेट हात पारे।
३ सय १६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३०.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन जोडेर ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित बनेको थियो। त्यसपछि खेल हुन नसक्दा पाकिस्तान डिएल मेथडमा पछि परेको हो। पाकिस्तानका लागि फखर जमानले नटआउट ८२ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओपनर अजर अली ६ रनमा आउट भए लगत्तै बबर अजाम शून्य र मोहमद हफिज १ रनमै पेभेलियन फर्के।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउदीले ३ विकेट लिए। ट्रेन्स बाउल्टले २ विकेट लिँदा टोड एस्टलले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।