लन्डन– इंग्लिस प्रिमियर लिगमा टोटनह्याम र वेस्टह्याम युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन्। बिहीबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ७० मिनेटमा वेस्ट ह्यामका ओवियाङले ३५ यार्ड टाढाबाट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। तर खेल सकिन ६ मिनेट बाँकी छदा टोटनह्यामका लागि दक्षिण कोरियन फरवार्ड सन हेउङ्ग मिनले गोल गरे। ३० यार्डबाट सनले लोभलाग्दो गोल गरेपछि टोटनह्याम हारबाट जोगिएको हो।
मिनले टोटनह्यामको घरेलु मैदानमा पछिल्ला ९ खेलमा १२ गोलका लागि योगदान दिइसकेका छन्। जसमा सनले ७ गोल गर्दा ५ पटक गोलका लागि पास दिएका छन्।
खेलसँगै प्रिमियर लिगको २२ चरणका खेल सकिएका छन्। लिगको अंक तालिकामा म्यानचेस्टर सिटी ६२ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७, तेस्रो स्थानको चेल्सीको ४६, चौथो स्थानको लिभरपुलको ४४, पाँचौ स्थानको टोटनह्यामको ४१ र छैटौं स्थानको आर्सनलको ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।