काठमाडौं– आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेट प्रतियोगिताको पहिलो चरणमा छनोट भएका २१ खेलाडीमध्ये ६ जना यु–१९ टिमका खेलाडी परेका छन्।
नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) प्रतिनिधि अनिमुल इस्लाम र कप्तान पारस खड्का सम्मिलिन छनोट समितिले प्रारम्भिक टिममा युवा खेलाडीलाई प्राथमिकतामा राखेका हुन्।
प्रशिक्षक टमाटाले खेलाडी छनोटका लागि डब्लुसिएल च्याम्पियनसिपको सातौं चरण, यु–१९ एसिया कप र एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई आधार मानेको बताए।
यु–१९ एसिया कपमा भारतलाई हराएर नेपाली युवा टिमले सेमिफाइनलको यात्रा तय गरेको थियो। नेपालले क्रिकेटका कुनै पनि प्रतियोगितामा भारतलाई पराजित गरेको त्यो पहिलो अवसर थियो। गत शनिबार सम्पन्न इपिएलमा पनि युवा खेलाडीले प्रभावशाली प्रदर्शन गरेका थिए। 'इपिएल र एसिया कपमा गरेको प्रदर्शनका आधारमा नयाँ अनुहारलाई मौका दिएका हौं,' टमाटाले नेपाल लाइभसँग भने।
पहिलो चरणको छनोटमा परेका यु–१९ टिमका खेलाडीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह, रोहितकुमार पौडेल, किशोर महतो र रसिद खान छन्।
यु–१९ टिमका कप्तान दीपेन्द्र र सन्दीप यसअघि नै सिनियर टिमका परिसकेका खेलाडी हुन्। ब्याट्सम्यान अनिलले गत महिना युएई विरुद्धको खेलमा स्थान पाए पनि खेल्न पाएका थिएनन्। ब्याट्सम्यान रोहित कुमार पौडेल, तीब्र गतिका बलरद्वय किशोर महतो र रसिद खानले भने पहिलो पटक सिनियर टिमको प्रारम्भिक छनोट पार गरेका हुन्।
इपिएलमा दीपेन्द्रले चितवन टाइगर्सको कप्तानी सम्हालेका थिए। सन्दीपले ललितपुर प्याट्रिओट्सबाट खेल्दै ९ विकेट लिएका थिए। अनिलले विराटनगर वारियर्सलाई च्याम्पियन बनाउने क्रममा फाइनलमा महत्वपूर्ण २ विकेट लिएका थिए। अनिलले अन्तिम ओभरमा २ विकेट लिएपछि विराटनगर च्याम्पियन बनेको थियो। त्यसअघि अनिलले पहिलो खेलमा ४७ रन बनाउनु बाहेक कुनै खेलमा गतिलो प्रर्दशन गर्न सकेका थिएनन्।
भैरहवाबाट खेलेका रोहितले ललितपुरविरुद्धको क्वालिफायरमा उत्कृष्ट फिनिसिङ गर्ने क्रममा अन्तिम ओभरमा २ छक्का प्रहार गरेका थिए। उनले त्यस खेलमा नटआउट २८ रन प्रहार गरेपछि भैरहवाले फाइनल यात्रा तय गरेको थियो। समूह चरणमा ललितपुरविरुद्ध नै उनले ३१ रन बनाएका थिए।
रसिद खानले ललितपुरबाट ४ खेल खेल्दै ४ विकेट लिएका थिए भने पोखराबाट खेलेका किशोरले कुनै विकेट लिएका थिएनन्।
युवा खेलाडीलाई प्राथमिकता राखेको प्रारम्भिक टिमको प्रशिक्षण शुक्रबारबाट सुरु हुनेछ।
नेपालमा १५ दिन प्रशिक्षण गरेपछि राष्ट्रिय टिम घोषणा गरिनेछ। त्यसपछि नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ। दक्षिण अफ्रिकामा कम्तिमा ३ वटा अभ्यास खेल्ने तयारीमा रहेको नेपाली टिम त्यहाँ १० देखि १२ दिन बस्नेछ र सिधै नामिबिया जानेछ।
नेपाली टिममा यसअघि पनि काम गरिसकेकाले मोन्टी देसाईलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरिएको छ।
डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले खेल्नेछन्। डिभिजन–२ का शीर्ष २ टिम विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।
नेपालसहित युएई, नामिबिया र केन्या विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपबाट शीर्ष ४ मा पर्न नसकेपछि डिभिजन–२ मा झरेका हुन्। क्यानडा र ओमान भने डिभिजन–३ बाट उक्लिएका टिम हुन्।
पहिलो चरणको टिम
अनिलकुमार साह
बसन्त रेग्मी
दिलीप नाथ
दीपेन्द्रसिंह ऐरी
दिपेस श्रेष्ठ
करण केसी
ज्ञानेन्द्र मल्ल
किशोर महतो
ललितसिंह भण्डारी
ललितनारायण राजवंशी
मोहमद आरिफ शेख
पारस खड्का (कप्तान)
रोहित कुमार पौडेल
रसिद खान
सन्दीप लामिछाने
शक्तिप्रसाद गौचन
शरद भेषावकर
सिद्धान्त लोहनी
सोमपाल कामी
सुनील धमला
सुशन भारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।