काठमाडौं– रुस्लान थ्रीस्टार क्लब फुटबलमा फर्किएको छ। करिब १४ महिनाको मौनतालाई तोड्दै घरेलु फुटबलको लोकप्रिय क्लब थ्रीस्टारले सुदुरपश्चिममा भोलिबाट सुरु हुने खप्तड गोल्डकप खेल्ने तयारी गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण थ्रीस्टारले एएफसी क्लब कप च्याम्पियनसिपको दोस्रो चरण खेल्ने मौका गुमाएको थियो।
एन्फाको कारण क्लबलाई अपुरणीय क्षति पुगेको बताउदै थ्रीस्टारले उचित क्षतिपुर्ति नपाए सम्म फुटबल नखेल्ने निर्णय गरेको थियो।घरेलु लिग च्याम्पियनको हैसियतले थ्रीस्टारले एएफसी क्लब च्याम्पियनसिपको मौका पाएको थियो। त्यसपछि थ्रीस्टार घरेलु फुटबलका कुनै प्रतियोगितामा सहभागि भएन।
क्षतिपुर्ति वापत थ्रीस्टारले ६ करोड माग गरेको थियो। एन्फा र क्लब पदाधिकारीबीचको लामो छलफलपछि विवाद अन्त्य भयो, सहमती अनुसार एन्फाले डेढ करोड रुपैयाँ थ्रीस्टारले दिने भयो। मंसिर १० गते भित्र क्षतिपुर्ति वापतको रकम पाउने सम्झौता उल्लेख छ, तर क्लबले अहिले सम्म पहिलो किस्ता वापतको ५० लाख रुपैयाँ मात्र प्राप्त गरेको छ। सोही रकमबाट थ्रीस्टारले नयाँ टिम बनाएको छ, जसमा धेरै अनुहार पुरानै खेलाडीको छ। क्लबले टोलीले घरेलु फुटबलका केही स्टार खेलाडी समावेश गरेको छ, जसमा विमल घर्तीमगरदेखि अनन्त तामाङ अटाएका छन्। थ्रीस्टारमा तीन विदेशी खेलाडी यथावत छन्।
मंगलबार थ्रीस्टारले एक कार्यक्रमको आयोजना गर्यो र खप्तड गोल्डकप खेल्ने टोली सार्वजनिक गर्यो। कार्यक्रममा क्लबका कप्तान बिक्रम लामाले फेरी एक ढिक्का भएको खेल्ने मौका पाएकोमा खुसी व्यक्त गरे। ‘क्लब र नेपाली फुटबलको हितका लागि मेहनत गर्नेछौ,’ उनले भने ‘बलियो, सन्तुलित र एकजुट भएर मोफसलको प्रतियोगिता खेल्नेछौ।’
बिक्रमकै कप्तानीमा थ्रीस्टारले अन्तिम पटक सन् २०१६ को सेप्टेम्बरमा भारतको गुवाहाटीमा भएको बोर्डोलोई ट्रफीको उपाधि उचालेको थियो, त्यसमा शिकार भारतीय आईलिग क्लब इस्ट बंगाल भएको थियो।
सोही ट्रफी जिताएका मेघराज केसी क्लबको मुख्य प्रशिक्षकमा यथावत छन्। ‘विगत १४ महिनायता निष्क्रिय भएको बसेको थिएनौ, फुटबलको तयारी गरिरहेका थियौ,’ प्रशिक्षक केसीले भने। निरन्तर फुटबलमा लडिरहेको उल्लेख गर्दै उनले दुख गरेर फुटबलमा कमब्याक गरेको बताए। प्रतियोगितामा सहभागिता जनाउन १८ खेलाडी सहित २५सदस्यीय टोली आजै दिउँसो धनगढी प्रस्थान गरेको छ।
थ्रीस्टारले आगामी सोमबार पुर्वको क्लब झापा ११ सँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।