काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले इन्डोनेसियन क्लब पेर्सिजा जकार्तासँग थप एक वर्षको सम्झौता गरेका छन्।
सम्झौतासँगै इन्डोनेसियाको राजधानी जकार्ताको चर्चित क्लबबाट रोहितले फेरि एक सिजन लिग वान खेल्ने पक्का भएको छ।
पेर्सिजाका मुख्य निर्देशक गडे विडिएडेले रोहितले बिहीबार सम्झौता गरेको पुष्टि गरेको गोल डटकमले जनाएको छ। तर, सम्झौता रकम भने खुलाइएको छैन। गत सिजन पेर्सिजाबाटै खेलेका रोहित यो सिजन आबद्ध हुने विषय अनिश्चित थियो।
पेर्सिजाले २५ वर्षीया रोहित राष्ट्रिय टिमका लागि खेल्न नेपाल फर्कनुपर्ने भएकाले यो वर्ष सम्झौता गर्न चाहेको थिएन। तर, विदेशी खेलाडी सम्झौता गर्न नयाँ नियम लागू भएपछि पेर्सिजाले रोहितसँग फेरि सम्झौता गरेको हो। इन्डोनेसियाको लिग वानले २५ वर्ष उमेर सम्मका विदेशी खेलाडीसँग मात्र सम्झौता गर्नुपर्ने नियम लागू गरेका थियो।
रोहितसँग सम्झौता गर्नुअघि पेर्सिजाले अस्ट्रेलियाका इसाका चेर्नाक, ब्राजिलका जुनियर टिम्बो र अफगानिस्तानका फासल सायेसतेनलाई भित्र्याउन चाहेको थियो। तर, तीनै जना खेलाडी २५ वर्षभन्दा माथिका भएपछि प्रशिक्षक अलेसान्द्रो स्टेफानो कुगुरा रोद्रिगेजले रोहितसँग सम्झौता प्रक्रिया अघि बढाएका थिए।
सम्झौताका लागि कुरा आएपछि रोहित मंगलबार इन्डोनेसिया पुगेका थिए। रोहित इन्डोनेसिया पुगेको २ दिनपछि पेर्सिजासँग सम्झौता भएको हो। सम्झौताअघि रोहितले बुधबार पेर्सिजाको टिमसँगै अभ्यास गरेका थिए।
गत सिजन रोहितले पेर्सिजाबाट प्रभावशाली प्रदर्शन गरेका थिए। उनले २८ खेलमा तीन गोल गरेका थिए भने चार पटक गोलका लागि पास उपलब्ध गराएका थिए।
गत सिजन लिग वानमा पेर्सिजा चौथो भएको थियो। उसले ३४ खेलमा १७ जित निकाल्दा १० बराबरी खेलेको थियो। ७ खेलमा भने पराजित भएको थियो।
पेर्सिजा यो सिजन एएफसी कपको समूह चरणका लागि छनोट भएको छ।
पेर्सिजाबाट आगामी सिजन लिग वान र एएफसी कप खेल्न लागेका रोहित इन्डोनेसियाबाट खेल्न लागेको चौथो सिजन हो। यो सिजनको लिग वान २४ फेब्रुअरीबाट सुरु भएर ८ महिना चल्नेछ।
पेर्सिजाबाट उनले तेस्रो सिजन खेल्न लागेका हुन्। त्यसअघि रोहितले सन् २०१२ मा पिएसपिएस पेकेबानुबाट खेलेका थिए।
त्यसअघि रोहितले सन् २०१० देखि २०१२ भारतीय आइलिग क्लब हल एससीबाट खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन रोहितले व्यावसायिक करिअर भने सन् २००९ मा मच्छिन्द्र क्लबाट सुरु गरेका थिए। २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले ४६ क्याप जित्दै २ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।